बेलायतलाई कर्मथलो बनाउँदै आएका नेपाली चलचित्र निर्देशक डा. कपिल रिजाल निर्देशित सामाजिक कथानकमा आधारित चलचित्र ‘गौँथली’ ले बेलायत र आयरल्यान्डका विभिन्न सिनेमा हलमा उत्साहजनक प्रदर्शन गरेको छ।
गत ७ अगस्टदेखि अल्डरसटलगायत बेलायतका दुई दर्जनभन्दा बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो। बेलायतका प्रमुख सहरहरूमा दर्शकको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ। सिनेवर्ल्ड, भ्यू र साभोयलगायत विभिन्न सिनेमा हलमा चलचित्र प्रदर्शन गरिएको हो।
चलचित्रका केही शो हाउसफुलसमेत भएका छन्। बेलायतस्थित नेपाली समुदायबाट फिल्मले राम्रो साथ पाएको निर्माण तथा प्रदर्शन पक्षले जनाएको छ।
गत शुक्रबार सिनेवर्ल्ड हलमा आयोजित विशेष प्रदर्शन कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र योगेन क्षेत्री, बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका संस्थापक अध्यक्ष लप्टन काजी शेर्पा लगायत बेलायतस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गत १७ जुलाईदेखि नेपालमा प्रदर्शनमा आएको ‘गौँथली’ले घरेलु बक्स अफिसमा पनि उल्लेखनीय सफलता हासिल गरिसकेको छ। पछिल्लो विवरणअनुसार फिल्मले २० करोड रुपैयाँभन्दा बढी ग्रस कारोबार गर्दै सर्वकालीन धेरै कमाउने नेपाली चलचित्रको सूचीमा तेस्रो स्थान बनाएको छ। फिल्मलाई हालसम्म ७ लाखभन्दा बढी दर्शकले हलमा हेरेको बताइएको छ।
‘गौँथली’को कथा बाल्यकालमै विवाह गर्न बाध्य पारिएकी एक किशोरीको जीवन संघर्षमा केन्द्रित छ। परम्परागत सामाजिक संरचनाका कारण शिक्षाबाट वञ्चित भएकी उनी जीवनमा अनेक कठिनाइ, विश्वासघात, हिंसा तथा सन्तान, घर र स्वास्थ्यसमेत गुमाउने अवस्थाबाट गुज्रिन्छिन्। तर कठिन परिस्थितिबीच पनि हार नमान्दै उनले शिक्षालाई आफ्नो जीवन पुनर्निर्माण र परिवर्तनको माध्यम बनाउँछिन्।

फिल्मले बालविवाह, महिला अधिकार, लैंगिक विभेद, शिक्षाको महत्त्व तथा परम्पराका नाममा महिलामाथि हुने दमनलाई प्रभावकारी ढंगले उठाएको छ। गौंथलीको शैक्षिक यात्रा र संघर्षले अन्ततः उनको समुदायलाई समेत लैंगिक असमानता तथा पुराना सामाजिक मान्यतामाथि प्रश्न उठाउन प्रेरित गर्ने सन्देश फिल्मले दिएको छ।
चलचित्रको कथासँग निर्देशक डा. कपिल रिजालको पारिवारिक अनुभवसमेत जोडिएको छ। उनका पिता वरिष्ठ चिकित्सक तथा सर्जक डा. भोला रिजालले लेखेको कथाको प्रेरणा डा. कपिलकी आमाको जीवन अनुभवबाट लिइएको बताइएको छ। बाल्यकालमै विवाह गर्नुपरेको आमाको अनुभवलाई आधार बनाएर कथा विकास गरिएको निर्देशक रिजालले विभिन्न अवसरमा बताउँदै आएका छन्।
डा. कपिल रिजाल बेलायतमा लामो समयदेखि दन्त चिकित्सक तथा इम्प्लान्टोलोजिस्टका रूपमा कार्यरत छन्। यसअघि ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका रिजालको ‘गौँथली’ दोस्रो निर्देशकीय चलचित्र हो।
फिल्ममा प्रकाश घिमिरे, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, सिम्रन खड्का र लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ।
बेलायतमा चलचित्रको प्रदर्शन र प्रचारका लागि निर्देशक रिजालको परिवार, साथीभाइ तथा नेपाली समुदायका विभिन्न व्यक्तिहरू सक्रिय भएका छन्। सामाजिक सञ्जाल, नेपाली व्यवसाय तथा सामुदायिक सञ्जालमार्फत फिल्मको प्रचार गरिएको छ। विशेषगरी अंग्रेजी सबटाइटलसहित प्रदर्शन भएकाले बेलायतमै जन्मिएका दोस्रो पुस्ताका नेपाली युवालाई समेत चलचित्रले आकर्षित गरेको बताइएको छ।
यसअघि बेलायतमा ‘पूर्णबहादुरको सारंगी’ ले उल्लेख्य नेपाली दर्शक पाएको थियो। त्यसपछि ‘गौँथली’ले पनि बेलायतस्थित नेपाली दर्शकको मन जित्दै नेपाली चलचित्रप्रतिको आकर्षण थप बढाएको छ।
पहिलो पुस्ताका नेपाली दर्शकका लागि फिल्ममा प्रस्तुत गाउँले परिवेश, बालविवाह, महिला संघर्ष र शिक्षाबाट वञ्चित हुनुपरेको सामाजिक यथार्थ परिचित लाग्छ। बेलायतमा जन्मिएका नयाँ पुस्ताका लागि भने यसले आफ्ना अभिभावक तथा हजुरबुबा–हजुरआमाको पुस्ताले भोगेको नेपाली समाज र परिवेश बुझ्ने अवसर प्रदान गरेको छ।
नेपालमा व्यावसायिक सफलता हासिल गरिरहेको ‘गौँथली’को बेलायत प्रदर्शनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत सकारात्मक संकेत दिएको छ।
निर्देशक रिजालले बेलायतका दर्शकबाट प्राप्त अपार माया, साथ र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली चलचित्रलाई निरन्तर माया र समर्थन गरिदिन आग्रह गरेका छन्।